footer
logo
November 25 2020
Blog single photo

रेमिट्यान्स आम्दानी बढ्यो, वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या भने घट्यो    

राष्ट्र बैंक । कोभिड १९ संक्रमणको बाबजुत पनि रेमिट्यान्स आम्दानीमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको आर्थिक वर्ष २०७७/०७८ को तीन महिना (साउन देखि असोज सम्म)को तथ्याङ्क अनुसार रेमिट्यान्स आम्दानी १२.६ प्रतिशतले वृद्धि भई २ खर्ब ५८ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.६ प्रतिशतले बृद्धि भई २ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ४.७ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ९६.८ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.७ प्रतिशतले घटेको थियो । 



वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७८.६ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ०.९ प्रतिशतले घटेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर १०.२ प्रतिशतले वृद्धि भई २ खर्ब ८६ अर्ब ९१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ३.८ प्रतिशतले घटेको थियो ।

Top