footer
logo
October 07 2020
Blog single photo

निषेधाज्ञाले घटायो निर्जीवन बीमा व्यवसाय

बीमा खबर । कोरोना भाइरस नियन्त्रण गर्न भदौ महीनामा लगाइएको निषेधाज्ञाका कारण निर्जीवन बीमा व्यवसाय प्रभावित भएको देखिएको छ । साउन महीनाको तुलनामा भदौमा निर्जीवन बीमा २२ दशमलव ६७ प्रतिशतले घटेको छ ।

चैत दोस्रो साताबाट लगाइएको बन्दाबन्दी खुकुलो बनाएपछि गत असार र साउनमा निर्जीवन बीमाको व्यवसाय बढ्न थालेको थियो । तर, भदौमा काठमाडौं उपत्यकालगायत शहर तथा जिल्लाहरूमा निषेधाज्ञा लगाइएपछि व्यवसाय पुनः प्रभावित भएको निर्जीवन बीमा कम्पनीहरूले बताएका छन् ।

बीमा समितिको तथ्यांकअनुसार साउनमा रू। २ अर्ब ६९ करोड बीमाशुल्क संकलन भएको थियो । भदौमा भने त्योभन्दा रू। ६१ करोड कम अर्थात् रू। २ अर्ब ८ करोड बीमा शुल्क संकलन भयो । समग्रमा चालू आवको २ महीनामा भने रू। ४ अर्ब ७७ करोड निर्जीवन बीमाशुल्क संकलन भएको छ ।

सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गत चैत ११ गतेदेखि करीब ३ महीना पूर्ण बन्दाबन्दी लगाएको थियो । त्यस अवस्थामा निर्जीवन बीमा व्यवसाय नमज्जाले प्रभावित भएको थियो । असारदेखि बन्दाबन्दी खुकुलो बनाएपछि भने निर्जीवन बीमाको व्यवसाय बढ्न थालेको थियो । तर, भदौमा निषेधाज्ञा लगाएपछि व्यवसाय पुनः प्रभावित भएको युनाइटेड इन्स्योरेन्सका कामु प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए ।

‘साउनमा जुन रूपमा व्यवसाय भएको थियो । भदौमा निषेधाज्ञाका कारण त्यसअनुसार हुन सकेन । समग्रमा चालू आवको व्यवसायमा सन्तोष हुन सक्ने आधार छैन,’ उनले भने, ‘निषेधाज्ञा खुकुलो भएपछि असोजमा पनि व्यवसाय खासै भएको छैन । अबका महीना पनि व्यवसाय घट्दै गयो भने निर्जीवन बीमा क्षेत्र नमज्जाले नै प्रभावित हुने देखिन्छ ।’



कोरोनाको जोखिम बढेपछि काठमाडांै उपत्यकासहितका प्रमुमख शहर तथा जिल्लामा समयसमयमा निषेधाज्ञा लगाइएको थियो ।

बन्दाबन्दी अवधिको बीमाशुल्कमा छूट दिनुपर्ने व्यवस्थाले पनि बीमाशुल्क संकलनमा कमी आएको उनको भनाइ छ । ‘बन्दाबन्दी अवधिको बीमाशुल्कमा छूट दिने भनेर बीमा समितिले राहत प्याकेज ल्याएको थियो । बीमितले त्यसबापत पाउने छूट रकम कट्टी गरेर बीमालेख नवीकरण गर्ने गरेका छौं,’ उनले भने, ‘त्यसले पनि व्यवसायलाई केही प्रभावित बनाएको छ ।’

हाल नेपालमा नेपालमा २० निर्जीवन बीमा कम्पनी सञ्चालनमा छन् । तीमध्ये १९ निर्जीवन बीमा कम्पनीले समीक्षा अवधिमा उक्त बराबरको व्यवसाय गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीले विवरण नपठाएको समितिको भनाइ छ ।...

यो समाचार आर्थिक अभियानमा मिलन विश्वकर्माले लेखेका छन् ।

Top