footer
logo
July 17 2020
Blog single photo

जेठ सम्ममा ७ खर्ब ७४ अर्ब ८७ करोड रेमिट्यान्स भित्रियो

बैंक खबर । आर्थिक वर्ष २०७६/०७७ को जेठ मसान्त सम्ममा ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक तथा वित्तीय स्थितिको विवरणमा गत आर्थिक वर्षको साउन देखि जेठ मसान्त (११ महिना) सम्म उक्त रेमिट्यानस रकम भित्रिएको हो । तथ्याङ्क अनुसार रेमिट्यान्स आप्रवाहमा ३ प्रतिशतले कमी आएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १७ दशमलव ५ प्रतिशतले बढेको थियो । 

अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह ८ दशमलव १ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १२ दशमलव ४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३५ दशमलव ७ प्रतिशतले घटेको थियो । 
 



वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ३१ दशमलव १ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५ दशमलव ४ प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ३ दशमलव ६ प्रतिशतले कमी आई ८ खर्ब ७२ अर्ब ७८ करोड कायम भएकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १६ दशमलव ६ प्रतिशतले बढेको थियो । 
 

Top