footer
logo
Blog single photo

नोट सफा राख्न बैंकहरुले के गर्नुपर्छ ? यी हुन बैंकहरुले पालना गर्नुपर्ने नौ बुँदाहरु

बैंक खबर । कुनैपनि देशको नोट उक्त देशको प्रतिष्ठासँग जोडिएको हुन्छ । कुनैपनि देशका नागरिक कति सभ्य छन भन्ने कुरा त्यस देशको नोट कत्तिको सफा छ भन्नेबाटपनि थाहा पाउन सकिन्छ । त्यसैले नोटको प्रयोग गर्दा विशेष ध्यान पु-याउनुपर्ने हुन्छ । नोटमा लेख्ने, चिसो बनाउने, रङ लगाउने, च्यात्ने, पट्याउने लगायतका काम गर्नु हुँदैन । 

नेपाल राष्ट्र बैंकले पनि विभिन्न समयमा नोट सफा राख्नका लागि विभिन्न निर्देशनहरु दिने गर्दछ । तिनै निर्देशनहरुको पालना गरी नोट सफा राख्न मद्दत पु-याउनु पर्छ । नोट सफा राख्दा छिटो विग्रदैन र लामो समयसम्म टिक्छ । जसले गर्दा नेपाल राष्ट्र बैंकलाई छिटोछिटो नोट प्रिन्ट गर्नुपदैन वर यसबाट राज्यलाई आर्थिक भार समेत कम पर्छ । 

नेपालमा बैंकिङ प्रणाली भित्रै पनि नोटलाई फोहोर गरिन्छ । केही वर्ष अघिसम्म प्रत्येक बैंकले नोटमा स्टिच लगाउँदा सबै नोटमा प्वाल परेको हुन्थ्यो । तर त्यो काम अहिले रोकिएको छ । त्यस्तै बैंकका कर्मचारीले नोटमा लेख्ने प्रचलन पनि अहिले रोकिएको छ । यि कार्यहरु रोकिएसँगै अहिले बजारमा धेरै हदसम्म सफा नोट पाउन सकिन्छ । यसबाट सबैभन्दा धेरै नोटको सफाइ गर्ने काम बैंक भित्रैबाट हुनुपर्छ भन्ने पनि स्पस्ट भइसकेको छ । 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नोट सफा राख्ने सम्बन्धमा विभिन्न नौ बुँदामा निर्देशन दिएको छ । 

१. बैंक तथा वित्तीय संस्थाले आफ्नो संस्थामा प्राप्त हुन आएका नोटहरुलाई ए.टि.एम. लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य, काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य र चलनचल्तीमा पठाउन अयोग्य गरी नोटलाई तीन वर्गमा छुट्याउनु पर्नेछ।

२. ए.टि.एम. लगायतका मेशीनहरुको माध्यमबाट चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा हरियो रङको स्लिप प्रयोग गर्नुपर्नेछ।

३. काउन्टरबाट भुक्तानी गरी चलनचल्तीमा पठाउन योग्य नोटको प्याकेटमा सेतो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ।

४. चलनचल्तीमा पठाउन अयोग्य नोटको प्याकेटमा रातो रङ्गको स्लिप प्रयोग गर्नुपर्नेछ।

५. बुँदा नं २, ३, ४ मा उल्लेखित स्लिपहरुमा बैंक तथा वित्तीय संस्थाको नाम, कार्यालय/शाखाको नाम र छाप, नोट गन्ती गर्ने कर्मचारीको नाम, कर्मचारीको परिचय नम्बर, सही र मिति सम्बन्धी विवरण अनिवार्य रुपमा हुनु पर्दछ । 



६. नोटमा स्टिचको प्रयोग गर्नु हुँदैन । यसमा आवश्यक्तताअनुसार रबर/प्लाष्टिक/पेपर बैण्ड प्रयोग गर्न सकिने छ । साथै, नोटमा नलेख्ने, केरमेट नगर्ने र हिफाजत गर्ने/गराउने व्यवस्था मिलाउनु पर्नेछ ।

७. झुत्रिएको, मक्किएको, जलेको, गलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर, अंक, चित्र तथा सुरक्षण विशेषताहरु नबुझिने वा बिग्रने गरी रंग लागेको/लेखिएको/कोरिएको/मेटिएको/च्यातिएको वा पूर्वराजाको तस्वीर अंकित भएको नोटलाई पुनः निष्काशन अयोग्य नोटको रुपमा वर्गीकरण गर्नुपर्ने छ र त्यस्ता नोटलाई चलनचल्तीको लागि पठाउनु हुँदैन ।

चलनचल्तीमा पठाउन अयोग्य नोट आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा (नोटकोष वा नेपाल राष्ट्र बैकमा पहुँच नहुने वित्तीय संस्थाहरुले)  र अन्य बैंक तथा वित्तीय संस्थाले नोटकोष वा नेपाल राष्ट्र बैकमा नै जम्मा गर्नुपर्ने छ ।

८. भुक्तनी गर्दा वा सटही सुविधा उपलब्ध गराउँदा माथि उल्लेखित बुँदा नं. २ र ३ बमोजिमका चलनचल्तीमा पठाउन योग्य नोट मात्र प्रयोग गर्नुपर्नेछ । यसरी भुक्तानी वा सटही गर्नुपूर्व नोटलाई निश्चित प्रक्रिया अपनाई जीवाणु तथा भाइरस रहित (Disinfect) गर्नुपर्नेछ ।

९. नोट राख्ने दराज, फर्निचर, भल्ट, नोट ओसारपसार गर्ने सामग्री सफा हुनुपर्नेछ । साथै, नोट भण्डारण गर्ने ढुकुटी र कारोबार गर्ने कक्षहरुमा यथोचित प्रकाश एवम् Exhaust Fan आदिको प्रयोग गरी पर्याप्त हावाको व्यवस्था भएको हुनुपर्नेछ ।

Top