footer
logo
Blog single photo

के हो विकास ऋणपत्र ? विस्तृतमा हेर्नुहोस्

बैंक खबर । विकास ऋणपत्र दुई वर्षभन्दा माथि अर्थात् मध्यम तथा दीर्घकालीन अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने सरकारी ऋणपत्र हो । हाल नेपाल राष्ट्र बैंकबाट निष्कासन भएका विकास ऋणपत्र ५, ७, ८, ९, १०, ११, १२, १३ र १५ वर्षे अवधिका रहेका छन्। नेपाल सरकारको आवश्यकतानुसार यो ऋणपत्रको अवधि निर्धारण गरिन्छ । 

उद्देश्य 
सरकारलाई देशको आर्थिक विकासको लागि आवश्यक मध्यम तथा दीर्घकालीन अवधिको स्रोत जुटाउनु यो ऋणपत्रको उद्देश्य रहेको छ । 

निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि 
विकास ऋणपत्र बोलकबोलको माध्यमबाट निष्कासन हुने गर्दछ भने बोलकबोलमा एकल ब्याजदर विधि (Dutch Auction System) प्रयोग गरिन्छ । 

बोलकबोल 
विकास ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नु पर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–ब्याजदरमा पनि बोल गर्न सकिन्छ । 

बोलकबोलको माध्यम 
विकास ऋणपत्रका लागि Online Boidding System को माध्यमबाट बोलकबोल गर्नु पर्दछ । 

ब्याजदर 
विकास ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुन्छ । 

बोलकबोलमा सहभागिता
नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, सँगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक विकास ऋणपत्रको बोलकबोलमा सहभागी हुन सक्दछन्। 

प्रतिस्पर्धी र अप्रतिस्पर्धी सम्बन्धी व्यवस्था 
विकास ऋणपत्रको बोल आह्वान गर्दा आह्वान रकमको कम्तीमा १५ प्रतिशत वा खुला बजार सञ्चालन समितिको निर्णयानुसारको रकम अप्रतिस्पर्धीको लागि छुट्याइएको हुन्छ । विकास ऋणपत्रको बोलकबोलमा “क”,“ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रूपमा भाग लिन पाइँदैन । अप्रतिस्पिर्धीको रूपमा बोल गर्दा माग रकम मात्र उल्लेख गर्नु पर्दछ, ब्याजदर उल्लेख गर्नु पर्दैन । प्रतिस्पर्धी बोलकबोलबाट निर्धारित एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई विकास ऋणपत्र उपलब्ध गराइन्छ । एउटै बोलमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी दुवैतर्फबाट बोल गर्न भने नपाइने व्यवस्था रहेको छ । 

अर्नेष्ट मनी 
विकास ऋणपत्रको बोल गर्दा बोल रकमको २.५० प्रतिशत रकम अर्नेष्ट मनी वापत व्यवस्था गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता नहुने बोलवालाले अर्नेष्ट मनी वापतको रकम तोकिएको समयभित्र विकास ऋणपत्र आवेदन खातामा जम्मा गरी भौचर यस विभागमा पेश गर्नु पर्दछ र बोलकबोलमा सफल भए पश्चात् बुझाउनु पर्ने बाँकी रकम पनि सोही खातामा जम्मा गरी तोकिएको समयभित्र राष्ट्रऋण व्यवस्थापन विभागमा भौचर पेश गर्नु पर्दछ । नेपाल राष्ट्र बैंकमा खाता हुने बोलकर्ताले अर्नेष्ट मनी वापतको रकम आफ्नो नेपाल राष्ट्र बैंकमा रहेको खातामा मौज्दात कायम गर्नुपर्दछ । बोलकबोलमा असफल यस बैंकमा खाता नहुने बोलवालाको अर्नेष्ट मनी वापत जम्मा भएको रकम नगद वा ट्रान्सफर मार्फत फिर्ता गरिन्छ । 

बोल रकम 
विकास ऋणपत्रको बोलकबोलमा न्यूनतम ५० हजार रूपैंया र बढीमा कुल आह्वान रकमको सीमामा नबढाई ५० हजार रूपैंयाले भाग गर्दा निःशेष भाग जाने अंकमा बोल गर्न सकिन्छ । 

बोलकबोल, निष्कासन र परिणाम 
विकास ऋणपत्रको बोलकबोल नेपाल सरकारबाट स्वीकृत बोलकबोल तालिका अनुसार वा खुला बजार सञ्चालन समितिले तोके बमोजिमको मितिमा हुने गर्दछ भने निष्कासन बोलकबोल भएको भोलिपल्ट हुने गर्दछ । बोलकबोलको भोलिपल्ट सोको परिणामको बारेमा जानकारी गराइन्छ । 

सूचना
विकास ऋणपत्र निष्कासनको सूचना नेपाल राष्ट्र बैंकको वेबसाइट (www.nrb.org,np) मा र Online Boidding System (http;obss.www.nrb.org.np/pd) मा प्रकाशित गरिन्छ । 



बाँडफाँट
बोलवालाले कबोल गरेको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा मिलाएर राखी आह्वान रकमसम्म वा खुला बजार कारोबार सञ्चालन समितिले निर्धारण गरे बमोजिम बाँडफाँट हुने रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर वा कुपन दर (Coupon Rate) कायम गरिन्छ । सोही एकल ब्याजदरमा सो दर र सो दर भन्दा मुनिका सबै बोलवालालाई उक्त ऋणपत्र बाँडफाँट गरिन्छ । 

हिसाब मिलान
बोलकबोल भएको भोलिपल्ट निष्कासन मितिका दिन सफल बोलवाला मध्ये नेपाल राष्ट्र बैंकमा खाता हुनेको यस बैंकमा रहेको खाता र खाता नहुनेको विकास ऋणपत्र आवेदन खाताज्ञद्द खर्च गरी हिसाब मिलान गर्ने गरिन्छ । 

प्रमाणपत्र
विकास ऋणपत्रको बोलकबोलमा सफल बोलवालालाई प्रमाण स्वरूप तोकिएको ढाँचामा प्रमाणपत्र उपलब्ध गराइन्छ । 

ब्याज तथा साँवा भुक्तानी 
विकास ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिन्छ भने तोकिएको मितिमा साँवा भुक्तानी गरिन्छ । ऋणपत्रको ब्याज तथा साँवा वापत प्राप्त हुने रकम यस बैंकमा Operative खाता भएका संस्थाको सिधै सोही खातामा र नहुनेको Non-operative खाता (ऋणपत्रको साँवा ब्याज भुक्तानी प्रयोजनको लागि यस बैंकमा खोलिएको खाता) मा जम्मा गरिन्छ । यस बैंकमा Operative खाता नहुने संस्था तथा व्यक्तिले ऋणपत्रको ब्याज तथा साँवा रकम जुनसुकै बजार निर्माता वा बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त गर्न सक्दछन्। 

ब्याज गणना विधि 
विकास ऋणपत्रको लागि निर्धारित ब्याजको हिसाब गर्दा ३६० दिन बराबरको एक वर्ष र ३० दिनको एक महिना मानी गणना गर्नु पर्दछ । 

प्रयोग 
नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाले विकास ऋणपत्रको प्रमाणपत्र भुक्तानी मिति अगावै रिपो, वैधानिक तरलता अनुपात, स्थायी तरलता सुविधा, अन्तरबैंक कारोबारमा प्रयोग गर्न सक्दछन् भने अन्य संस्था तथा व्यक्तिले यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन सक्दछन्। 

फाइदा
विकास ऋणपत्रमा लगानी गर्दा ६/६ महिनामा ब्याज पाइने, चाहेको समयमा बिक्री गर्न सकिने, व्यक्तिले विकास ऋणपत्रको प्रमाणपत्र यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखी ऋण लिन पाइने, लगानी रकमको जोखिम नहुने र अप्रत्यक्ष रूपमा देश विकास कार्यमा संलग्न हुन पाइने हुन्छ । 

कारवाही सम्बन्धी व्यवस्था
विकास ऋणपत्रको बोलकबोलमा सफल बोलवालाले तोकिएको समयभित्र आवश्यक रकमको व्यवस्था गर्न नसकेको अवस्थामा ती बोलवालाको अर्नेष्ट मनी वापतको रकम जफत गरी कालोसूचीमा राखी आगामी बोलकबोलमा सहभागी हुन बन्देज लगाउन सकिने व्यवस्था छ । 

दोस्रो बजार कारोबार
विकास ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल धितोपत्र विनिमय बजार लिमिटेड (NEPSE) मार्फत मात्र हुने व्यवस्था रहेको छ । आयकर सम्बन्धी व्यवस्था विकास ऋणपत्रमा गरिएको लगानीबाट आर्जित ब्याज आम्दानीमा आयकर लाग्दछ ।
श्रोतः नेपाल राष्ट्र बैंक 

Top