footer
logo
Blog single photo

कोरोना बीमा पुनः सुचारु, बीमा अवधि २०७७ चैत मसान्त सम्म हुने

बीमा खबर । बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बीमालेख पुनः सुचारु गर्न स्वीकृति दिएको छ । गत वैशाख ७ गतेदेखि कार्यान्वयनमा आएको कोरोना भाइरस बीमालेखमा जोखिम बहन गर्ने क्षमता निर्जीवन बीमा कम्पनीहरुमा नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो । शुक्रबार सरकारले समेत दायित्व बहन गर्ने बताएपछि समितिले पुनः सुचारु गर्न निर्जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले कोरोना बीमा बजेटमा समावेस गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम भएकोले केही परिमार्जन गरी सुचारु गरिएको बताए । उनले निर्जीवन बीमा कम्पनीहरु, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकार समेत गरी संयुक्त रुपमा बीमालेखलाई अगाडी बढाउने सहमति भएकाले बीमालेखलाई निरन्तरता दिइएको बताए । अध्यक्ष चापागाईंले २०७७ चैत मसान्त सम्मको जोखिम बहन गर्न सकिने कोरोना बीमालेख जारी गरिएको बताए । यससँगै आजदेखि बीमालेख खरिद गर्नेको आगामी चैत मसान्त सम्मका लागि मात्रै बीमा हुने छ । यस अघि जारी भएका बीमालेखको जोखिम भने पुरै एक वर्ष सम्मको बहन हुने पनि अध्यक्ष चापागाईंले बताए ।

बीमालेखको दायित्व भुक्तानी बीमा शुल्क जम्मा भए अनुसारको बीमा पुल मार्फत भुक्तानी हुने छ । त्यसपछि नेपाल पुनर्बीमा कम्पनी, बीमा समिति र सरकारले जोखिम व्यहोर्ने छ । बीमा कम्पनीहरु बाट १ अर्ब, पुनर्बीमा कम्पनीबाट १ अर्ब, बीमा कम्पनीहरुको रिजर्भमा रहेको रकमबाट ५० करोड बराबरको जोखिम बहन हुने र त्यस भन्दा बढी हुने जोखिममा बीमा समिति र नेपाल सरकारले बहन गर्ने गरी सहमति भएको नेपाल बीमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले बताए । 



नेपाल पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरकुमार रायमाझीले ३५ हजार नागरिक सम्मको जोखिम ब्यहोर्न सक्ने गरी कोरोना बीमालेख सुचारु गरिएको बताए । उनले कोरोना बीमाको पुर्नबीमा नहुने भएकाले सरकारको समेत सहभागिता हुने गरी बीमालेख जारी गर्ने सहमति भएको बताए । 

निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिको संयुक्त पहलमा जारी गरिएको कोरोना बीमामा अहिले सम्म ३ लाख २५ हजार नागरिक सहभागि भएका छन् । बीमा समितिका अध्यक्ष चापागाईंले अहिले सम्म ३० अर्ब भन्दा माथिको बीमा जोखिम पुगेको जानकारी दिए । 

Top